कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेस

मधेसमा भ्रष्टाचारको विरोधमा मधेशी राष्ट्रिय मुक्ति मोर्चाले अभियान शुरु गर्छ : इञ्चार्ज यादव

६ असार २०८१, बिहीबार

वीरगञ्ज ६ असार । नेकपा माओवादी केन्द्र पार्टीका उपमहासचिव मातृका प्रसाद यादवले मधेसमा भ्रष्टाचार र सुशासन कायम गर्नका लागि नयाँ आन्दोलनको शुरुवात गर्ने बताउनु भएको छ ।

मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालको वीरगन्जमा आयोजना हुने विस्तारित बैठकको विषयमा जानकारी दिन आज टाउन हलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनहरुबाट व्यावस्था परिवर्तन भएपनि मधेसको अवस्था अझै उस्तै रहेको र दलाल नोकरशाह पुँजीपति वर्गको कब्जामा देश गएको भन्दै त्यसको भण्डाफोर गर्न मधेसमा भ्रष्टाचार विरोधी कार्यक्रम आज निरन्तर चल्ने बताउनुभयो ।

मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालका इञ्चार्ज समेत रहेका नेता यादवले सामन्तवाद, मधेस कंगालीको अवस्थामा पुगेको भन्दै राष्ट्रिय पूँजीको विकास विना देशको समृद्धि सम्भव नरहेको र विचार शुन्यताको अवस्थामा बोलवालाहरुका कारण उत्पीडित वर्गहरु झन उत्पिडनमा परेको बताउनुभयो ।

राजनीतिलाई कमाई खाने साधन बनाएर राजनीति नै फोहोरी खेल हो भन्ने भाष्य सृजना गरी जनतालाई संघीयता र गणतन्त्रको विपक्षमा पार्न भ्रमका जालहरु बुनिरहेको बताउनुभयो । नेपालमा सबैभन्दा उपेक्षित मधेश र मधेशी नै भएकोले यसको उत्थानका लागि मधेशी राष्ट्रिय मुक्ति मोर्चालाई पुर्नजीवन दिनु आवश्यकता महशुल गरेर यसको अभियान शुरु गर्न लागिको जानकारी दिनुभयो ।

उहाँले अहिले नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व मात्रै गरिरहेको र शान्ति प्रकृयाका कार्यभार पूरा गर्न बाँकी रहेको र केही शान्ति विरोधी तत्वहरुले पूराना मुद्दाहरु उल्टाउने षड्यन्त्र पनि गरिरहेकोले त्यसको लागि पनि अहिलेको सरकारको मोर्चा बनाउनुपर्ने विवसता माओवादीको रहेको बताउनुभयो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेता यादव, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज विजय महतो, मोर्चाका संयोजक तथा सांसद जगत यादव, सहसंयोजक नन्दकिशोर यादव र विश्वदिप यादव, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्